Latest Notices
सहायक प्रधानाध्यापकको सन्देश
सहायक प्रधानाध्यापकको सन्देश
दोलखा सदरमुकाम चरिकोटमा २०२८ सालमा कालिन्चोक मिडिल स्कुलको रुपमा स्थापना भएको यो विद्यालयमा अहिले बालकक्षादेखि कक्षा १२ सम्मको कक्षा सञ्चालनमा छ । यो विद्यालयमा विसं २०३८ मा मावि तह स्वीकृत भई सञ्चालन भएकोमा पहिलोपटक २०४२ सालमा एसएलसी परीक्षामा सहभागी भएको थियो । २०६४ सालदेखि कक्षा ११ मा तत्कालीन विज्ञान संकायको कक्षा सुरु भएको थियो भने २०६५ बाट व्यवस्थापन, शिक्षा तथा मानविकी संकायहरु सुरु भएको हो । २०७५ सालदेखि सीटीईभीटीको सम्बन्धनमा डिप्लोमा सिभिल इन्जिनियरिङ र २०७६ बाट डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ कक्षा सञ्चालन भैरहेको छ । यस विद्यालयमा दृष्टिबिहिनहरुको लागि आवास सहितको समाहित कक्षा सञ्चालनमा छ । जेहेन्दार तथा पछाडि पारिएका वर्गको लागि महिला फिडर छात्रावास पनि सञ्चालनमा छ । छात्रावासमा कक्षा ११ र १२ मा अध्ययन गर्ने २० जना दलित समुदाय र थामी समुदायका छात्राहरु बसेर अध्ययन गर्ने गर्दछन् । यो विद्यालयमा कक्षा ८ पास गरी विभिन्न कारणले पढाइ छाडेकाहरुका लागि खुला विद्यालय पनि सञ्चालनमा रहेको छ ।
कालिन्चोक माध्यमिक विद्यालय दोलखा जिल्लाकै एकमात्र विज्ञान विषय पढाइ हुने विद्यालय हो । यस क्रममा विसं २०७७/०७८ मा यो विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्नको लागि नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत विद्यालय विकास गुरुयोजना निर्माणको क्रममा पनि विज्ञान विषयलाई प्राथमिकतामा राखेर योजना निर्माण भएको थियो । विद्यालको गुरुयोजनाको आधारमा विद्यालयले विभिन्न योजना निर्माण गरी अघि बढाएको छ । यी योजनाको कार्यान्यवनले विद्यालयले नतिजा हासिक गर्ने विश्वास गर्न सकिन्छ ।






